म्याग्दी, १६ पुष । निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले एक बर्ष अघि जिम्मा लिएको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा पुग्ने सडक योजना अलपत्र पारेका छन् । गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक निर्माण योजना जिसिले काम नगर्दा अलपत्र परेको हो ।
पुर्बाधार बिकास कार्यालय म्याग्दीले मुना – लुलाङ – गुर्जा सडक आयोजना अन्तरगत महतला भिर क्षेत्रमा सडक निर्माणका लागि २०७६ पुष पहिलो हप्ता ठेक्का भएको थियो । रु एक करोड ४९ लाख लागत अनुमान गरिएको योजना काठमाडौको बिएन कन्ट्रक्सनले रु. ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो । २०७७ असार मसान्त सम्म सम्झौताको म्याद भएपनि अहिलेसम्म काम सुरु नहुँदा आयोजना अन्यौलमा परेको हो । ६४९.५ घनमिटर ग्याबीयन पर्खाल लगाउने, एक हजार ५०० मिटर कडा चट्टान काट्ने, ७४ हजार घनमिटर माटो कटिङ गर्ने र दुई वटा सल्याब कल्भर्ट बनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने बिवादले काम गर्न नसकेको बताए । ‘‘सम्झौता लगत्तै डोजर र प्राबिधिक काम गर्न साइटमा गएका थिए, उनले भने । ‘‘बिवादित ठाउँमा काम गरेमा डोजर जलाउने, प्राबिधिक र मजदुरलाई आक्रमण गर्ने धम्की आएपछि काम गर्न सकेनौ जिसिले भने । लुलाङ र लमसुङका बासिन्दाले महतला देखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गरेका छन् । खोरीयाका बासिन्दाको महतला देखि खोरिया हुदै लमसुङ–लुलाङ हुदै गुर्जातर्फ जाने सडक बनाउनुपर्ने अडान छ । लुलाङका वडा अध्यक्ष गमबहादुर बिश्वकर्माले खोरीयाको सडक घुमाउरो भएकाले महतलाबाट छुट्टै सडक बनाउनुपर्ने जनताको माग रहेको बताए । वडा अध्यक्ष बिकले ठेकेदारलाई कसैले अबरोध नगरेको र धम्की पनि नदिएको बताए ।
निर्माण ब्यवसायिक संघ म्याग्दीका अध्यक्ष जिसी जिल्लाको ‘हाइप्रोफाइल’ ब्यवसायी मानिन्छन् । राजनीतिक पहुँच समेत बनाएका जिसीले सम्बद्ध कार्यालयबाट ठेक्का रकमको ६ लाख रुपैया रकम सम्झौताप्रश्चात लिईसकेका छन् । काम गर्ने वातावरण नभएकाले ठेक्का रद्द गर्न निवेदन दिएको जिसील बताए । महतलामा करिब एक सय मिटर चट्टान छिचोलेपछि खोरीया हुदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् । ‘‘खोरिया भन्दा अगाडी मरेनी र लमसुङ सम्म सडक पुगेपनि महतलाको भिरमा सडक नबन्दा यातायात सुबिधाबाट बञ्चित भएका छौ,’’ अध्यक्षले भने ।
पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले गाउँपालिका मार्फत बिवाद समाधान गर्न पहल गरेपनि सफल नभएको बताए । कार्यालयका इन्जिनियर सन्तोष अर्यालले ठेक्का प्रश्चात कोरोनाका कारण काम रोकिएको छ, सो काम सुरु गर्न लागि अहिल्य भिरलाई छुट्टै ठेक्का प्रक्रियाबाट अघि बढाउदै अर्को निर्माण ब्यवसायीले भिर फुटाल्ने ठेक्का लिईसकेको जानकारी दिए । खोरीयाका बासिन्दाहरुले अस्वभाविक रुपमा घटेर ठेक्का लिएका ठेकेदारले भिरमा सडक खन्दा नाफा नहुने देखिएपछि बिवाद सिर्जना गरि योजनालाई असफल बनाउन चलखेल गरेको आरोप लगाएका छन् ।
राजनीतिक दलको आडमा आफूलाई नाफा नहुने भएपछि केही व्यक्तिहरुलाई उचालेर बिवादको बाहनामा ठेक्का रद्द गराउने चलखेल गरेका कारण महतलाको भिरमा सडक नबनेको स्थानीयको गुनासो छ । यसमा पुर्बाधारका केही कर्मचारीहरुले पनि साथ दिएका छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो । पुर्बाधारले चालु आर्थिक वर्षमा महतलामै दुई हजार घनमिटर चट्टान फुटाएर सडक खन्न अर्को ठेक्का सम्झौताको तयारी गरेको छ । गाउँपालिकाले लुलाङ हुदै गुर्जा जोड्ने सडक निर्माणका लागि बिनियोजन गरेको रु. चालिस लाख बजेट पनि कार्यान्वयन हुन सकेको छैन् ।




