म्याग्दी १६ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकामा १० शैयाको अस्पताल वडानम्वर १ बेगमा बनाउने निर्णय भएको छ । बुधबार भएको नवौँ गाउँसभाबाट बेगमा स्वास्थ्य चौकी स्तरोन्नती गरि अस्पताल बनाउने निर्णय बहुमतबाट टुंगो लागेको हो ।
’एक स्थानीय तह एक अस्पताल’ योजना अन्र्तगत संघिय सरकार मार्फत निर्माण हुन लागेको अस्पताल भवन बनाउनका लागि गाउँपालिकाको केन्द्र मौवाफाँट, रघुगंगा–३ पिप्ले स्वास्थ्य चौकी र बेग स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने बारेमा लम्विएको विवाद बुधबार गाउँसभामा बहुमतबाट स्थानको टुंगो भएको छ ।
गाउँसभामा सहभागीसदस्यहरुको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिए । गाउँपालिकामा कायम ४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिती रहेको थियो ।अस्पतालको स्थान छनौटको मतदानमा सहभागी ३० जनामध्ये २६ जनाले बेग स्वास्थ्य चौकी र ४ जनाले मौवाफाँटको पक्षमा मत राखेका थिए ।मतदान प्रकृयामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले तटस्थ रहेका थिए ।
सो गाउँसभाले वडा नम्बर ३ लाई दुई वटा वडामा कायम गर्न समेत सिफारिस गर्ने निर्णय गरेको छ । वडा ३ को मालिका, अक्षता, कलेजाबाङ, फुलवारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकार मार्फत संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिए । त्यसैगरि गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगंगा नदिबाट वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ ।
नयाँ गाउँपालिका बनाउनको लागि पाखापानीलाई दुई वडामा विभाजन गर्ने, धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ र बेनी नगरपालिकाका वडा नम्बर १० लाई समेत प्रस्ताव गरिएको नयाँ गाउँपालिकामा समावेश हुनका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध र समन्वय गर्ने सभाले निर्णय गरेको जनाईएको छ ।
गाउँसभाले मौवाफाँटमा व्यवस्थापन भैरहेको जग्गामा प्रशासकिय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय समेत गरेको छ । भवन निर्माणमा जिल्ला समन्वय समिति मार्फत रु ६० लाख बजेट विनियोजन भएको छ भने चालु आर्थिक बर्षमै गाउँपालिकाले रु २० लाख बजेट उपलब्ध गराएको छ । प्रमुख प्रशासकिय भवन निर्माणमा प्रदेश सरकारले रु १ करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, भने संघिय मामिला मन्त्रालयले रु ९ करोड सम्म बजेट उपलब्ध गराउन सक्ने गरि कार्यविधि बनेको छ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा अस्पताल बनाउने निर्णय गरेको थियो । ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन ।




