बाख्रापालन ब्यवसायमा ब्यस्त युवा
काेराेला पोस्ट १३ पुस २०७७, सोमबार

म्याग्दी,१३ पुष । पछिल्लो समय म्याग्दीमा विदेशबाट फर्किएर ब्यवसायीक रुपमा कृषि, पशुपालन लगायतको क्षेत्रमा युवाहरु आकर्षित भएका छन् । युवाहरुले गाउँमा गर्दै आएको परम्परागत खेती विस्तापित गर्दै ब्यवसायीक रुपमा कृषि र पशुपन्छी पालनमा लागेर राम्रो आम्दानी गर्न सफल भएका धेरै उदाहरण छन् ।

७ बर्षअघि विदेशबाट फर्किएका म्याग्दीको रघुगंगा गाउँपालिका –२ ओखरबोटका ३० बर्षिय युवा भगवान कटुवालले ब्यवसायिक रुपमा स्थानीयजातका बाख्रापालन गरेका छन् । स्थानीय रुपमा बनजंगलको घासलाई सदुपयोग गर्दै कटुवालले ब्यवसायिक रुपमा एकसयभन्दा बढी बाख्रा पालन गर्दै आएका छन् ।

उमेर २९ बर्षिय युवा कटुवालले विगत ६ बर्षदेखि सज्जन कृषि बाख्रा फर्मबाट सुरु गरेको बाख्रापालन ब्यवसायलाई चरणको लागि वडाको ठुलो बनको घासलाई बार्षिक ३५ हजारमा किनेर चरणको ब्यवस्था मिलाएका छन् । घर नजिक पुगेको सडकले उन्को बाख्रा, बोका र खशी विक्रिमा सहज गराएको छ । उन्को बाख्रा ब्यवसाय थप ब्यवसस्थित बनाउन प्रदेश अन्तरगतको भेटेरीनरी तथा पशु कार्यालयबाट यस आर्थिक बर्षमा २ लाख ५० हजार अनुदानबाट खोर निर्माण गरेका छन् । उनले बाख्रासंगै बोयलर कुखुरापालन पनि गर्दै आएका छन् ।

बाख्रापालनसंगै सिजनअनुसार भेडाच्याङ्ग्रा, खशी, बोका खरिद गर्दै विक्रिमार्फत घरखर्चसंगै बार्षिक ४ लाख आम्दानी गर्दै आएका उनले बताउछन् । नगदे बालीको रुपमा परिचित उन्को ब्यवसायमा बुबा डवलबहादुर कटुवालले साथ दिएका छन् । ब्यवसायिक रुपमा बाख्रापालन गर्दै ब्यवसायिहरुलाई विभिन्न रोग र महामारीबाट बाख्रा गोठलाई जोगाउन स्थानीय सरकारले सुलभ भेटेनरी अस्पतालसंगै पशु डाक्टरहरु राख्न आवश्यक देखिन्छ ।