म्याग्दी, ८ पुष । म्याग्दीको धवलागिरि गाउँपालिकाले हिउँदे गाउँसभाबाट पालिकास्तरीय अस्पताल ताकममा बनाउने टुङ्गो लागेको छ । गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शैँया क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो।
तीन बर्ष अघिको निर्णय संसोधन भएपछि ताकममा अस्पताल बनाउने, शाखा कार्यालय एकीकृत गर्ने, धारापानीमा स्वास्थ्य चौकी स्थापन गर्ने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन । वडानम्वर ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको २०७४ साउन २५ गतेको गाउँसभाले अन्य विषयगत कार्यालय वडानम्वर ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा नम्बर ७ मा पर्ने धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णयलाई संसोधन गरेको थियो ।
तीन वर्षअघिको निर्णय संशोधन भएपछि ताकममा अस्पताल बनाउने र शाखा कार्यालय गाउँपालिका रहेकै ठाउँबाट सञ्चालन गर्ने कानूनी बाटो खुलेको अध्यक्ष पुनले बताईन ।
यसअघि अस्पताल बनाउने निर्णय भएको धारापानीमा स्वास्थ्य चौकी र ताकमको १ र २ पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णय समेत भएको वडानम्वर १ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
गाउँपालिकाको केन्द्रसंगै एकठाउँमै नुहँदा नागरिकलाई सेवाप्रवाहमा सास्ती भएको भन्दै गाउँसभामा वडानम्वर १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्यालले प्रस्तुत गरेका उक्त प्रस्तावमा गाउँसभाका ३७ जना मध्ये २२ जनाले सेवा कार्यालय एकीकृत गर्ने पक्षमा मतदान गरेपछि बहुमतल पारित भएको थियो ।
सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै सञ्चालन हुने भएका छन्।
सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई यथावत राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत र अस्पताल बनाउने ठाउँ छनोट गाउँसभाबाट गरिएको थियो ।




