म्याग्दी, २२ मंसिर । ३६६० मिटर उचाइको डाँडाको शिरमा केहि भाग बसेको फाँट छ । चारैतिर सेताम्मे हिमाल र हरियाली पहाडको मनमोहक दृष्य आँखै अगाडी ठोकिन आउँछन् । घण्टौ लामो पदयात्राको थकान डाँडाबाट देखिने मनमोहक दृष्यले एकैछिनमा बिर्साइदिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ पाउद्धार गाउँको शिरमा पर्ने पर्यटकीय सम्भावनायुक्त क्षेत्र खोप्रा लेक (खोपरा) पुग्ने जो कोहि यहाँको प्राकृतिक सुन्दरताबाट छुटिएर आउन चाहदैनन् ।

गाउँबस्तीदेखि टाढाको शान्त वातावरण, चौफेरै चाँदी जस्तै टलक्क टल्कने हिमाल, आकर्षक झरना, हरियाली डाँडाकाडाँ, रङबिरङका फुलहरुहरुले सजिएका पाखाहरुले यस क्षेत्रमा जाने पर्यटकहरुलाई आनन्द मात्रै दिदैनन्, लोभ्याउने गर्छन् । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाललाई एकैठाउँबाट फन्को मारेर अवलोकन गर्न सकिने यस ठाउँबाट विहानीको सूर्योदय र साँझपखको सूर्यास्तको आकर्षक दृष्य समेत देख्न सकिन्छ ।
खोप्रालेकको प्राकृतिक सुन्दरतासंगै यस क्षेत्रमा रहेका चौरी र भेडीगोठहरुले शहरी जिवनशैलिमा हुर्किदो पुस्तालाई परम्परागत जिवनशैलिको रोचक र जिवन्त शिक्षा समेत दिने अनुभूति दिलाएको बेनीबाट पुगेका सञ्चारकर्मी राकेश शर्माले बताए । अग्लो डाँडामाथिको यस ठाउँबाट छिनछिनमा वदलिने मौसमले बादल र हिमालको लुकामारीको रोचक दृष्यले मोहित बनाएको शर्माले अनुभव सुनाए ।

खोप्रालेक खयरभारानी पदयात्रामा जाने पर्यटकहरुको पहिलो दिनको वास बस्ने गन्तव्य समेत हो । यहाँ पर्यटकको सुविधाको लागि सामुदायिक रुपमा लज समेत सञ्चालन गरिएको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेत समेटिएको यस क्षेत्रमा नागीको हिमाञ्चल मावि र पाउद्धारको पाउद्धार मावि सञ्चालनका लागि चौरीपालन समेत गरिएको छ । चौरीपालन र लज सञ्चालनबाट भएको आम्दानीलाई विद्यालय सञ्चालनमा परिचालन गरिँदै आईएको लज संचालन समितिका अध्यक्ष राजेश तिलिजाले बताए ।
यस पदमार्ग अन्तर्गत पर्ने ४ हजार ७ सय मिटर उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल खयरभारानी क्षेत्र साहसिक पर्यटनको रुपमा सम्भावनायुक्त रहेको छ । खयरभारानी तालसंगै हिमाल, पहाल, गुराँसे जंगल संगै यस क्षेत्रमा पालिएको चौरी र भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेकोे सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताए ।
खोप्राको नामकरण समेत पुर्खाहरुले भैँसी गोठ राख्ने क्रममा भैँसी ब्याएर भिरालो पाखोमा पाडो हराएपछि गोठालाहरुले पाडो खोजिरहेको हुदाँ त्यसलाई खोपारा हुँदै जनबोलीमा खोप्रा रहन गएको स्थानीयको किम्बदन्ती रहेको छ ।
समुदायकै अग्रसरमा यस क्षेत्रको सम्भावना उजागर गराउन थालिएको हो । यस क्षेत्रमा समुदाय स्तरबाट नै पर्यटन पूर्वाधार निर्माणले तिब्रता पाएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न समुदायस्तर र स्वदेश तथा विदेशमा रहेका स्थानीयबासी मार्फत आर्थिक संकलन गरि खोप्रा र खयरखोलामा होटल, पदमार्ग, खानेपानी, इन्टरनेट सुविधाको लागि पुर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष राजु पुनले बताए ।
यस पदमार्ग अन्र्तगत पाउद्धार गाउँ र गाउँमाथिको जंगलबिचमा पर्ने लरेनीमा स्थानीयले पर्यटकको सुविधाको लागि होटल सञ्चालन गरेका छन् । पाउद्धारमा पर्यटकका लागि मगर समुदायको पूख्यौली, कला संस्कृतिको अवलोकन गर्न पाउने थप आकर्षणको रुपमा रहेको छ । खोप्रासंग जोडेर पाचँ दिनको नयाँ पदमार्ग पहिचान गरिएको छ । तातोपानी– भालुखर्क, खोप्रा– खयरलेक पुगेर फेरी खोप्रा हुँदै पाउद्वार निस्कने गरि पदमार्गको पहिचान गरिएको र आवश्यक पूर्वाधार निर्माणमा जुटेको कार्यावाहक वडा अध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।
कोरोनाका कारण विदेशी पर्यटकहरुको आगमन रोकिएपनि आन्तरिक पर्यटकहरुको चहलपहल भैरहेको छ । हिमालको फेदीमा रहेको मनमोहक तलाउ नजीकै रहेको खयरभारानी थान दर्शनका लागि जनैपुर्णिमाका अवसरमा अत्यधिक धार्मिक पर्यटक पुग्ने यस क्षेत्रमा असोज कार्तिक र चैत बैशाखको समयमा बाह््य तथा आन्तरिक पर्यटकहरु आउने गरेको कोषका सचिव धनबहादुर पाईजा पुनले बताए । पर्यटकको सिजनमा यहाँको लज सुविधाले नधान्ने भएकाले पर्यटकहरुले क्याम्पीङ समेत गर्ने गरेको उहाँको भनाई छ । खोप्राको लजमा १२ वटा डवल बेड भएको कोठाको क्षमता रहेको छ ।

खयरभारानी थानको पुर्ननिर्माण
धार्मिक पर्यटकियस्थल खयरभारानी थान पुर्ननिर्माण गरिएको छ । क्याप्टेन राजु पुनको सक्रियतामा चन्दा संकलन गरेर थानको पुर्ननिर्माण गरिएको हो । भक्तजनको सहज दर्शन र पुजा गर्नका लागि चारै दिशा तर्फ ढोका राखेर मन्दिर निर्माण गरिएको कोषका अध्यक्ष पुनले बताउनुभयो । शक्तिको देवी खयरभारानी थानमा जनैपूर्णिमाको अबसरमा विशेष पुजापाठ हुन्छ । दर्शन पुर्जाआजा गर्ने भक्तजनहरुले मनले चिताएको धन, सन्तान, सुखशान्ति सबै मिल्ने विश्वास रहदै आएको छ । पर्यटकीय सम्भाबना बोकेको खयर तालको अबलोकन र खयर भारानी थानको पुजापाठको लागि जाने पर्यटक तथा भक्तजनहरुको सुविधाको लागि थानको पुर्ननिर्माण सहित व्यवस्थित पदमार्ग र विश्रामस्थल लगायतका भौतिक पूर्वाधार निर्माण गरिएको पुनले बताए । उनका अनुसार, थानकोे पुर्ननिर्माणका लागि ३९ लाख रुपैया खर्च भएको छ । खोप्रा देखि खयरभारानीसम्म पदमार्ग लगायतको पुर्वाधार निर्माणमा डेढ करोड भन्दा बढी लगानी भएको कोषले जनाएको छ ।

पदमार्ग निर्माण
खोप्रा हुँदै खयरभारानी जाने पदमार्गमा गाउँपालिकाको समेत पूर्वाधार निर्माणमा सघाउन थालेको छ । समुदायको अगुवाईमा अघि बढेको पूर्वाधार निर्माण कार्यमा गाउँपालिकाको समेत सहकार्य बढेपछि सामुदायिक लज, पदमार्ग, चौतारी, विश्रामस्थल र खानेपानीको सुविधा निर्माणले तिब्रता पाएको छ ।

अन्नपुर्ण गाउँपालिकाको २० लाख रुपैया बजेटमध्ये १० लाखको रुपैयाको शिख, स्वात बयली हुदै खोप्रालेक पदमार्ग निर्माण गरिएको छ भने १० लाख बजेटबाट पाउद्वार, लरेनी दोबाटो, खोप्रा हुदै खयरभारानी पर्यटन पदमार्ग निर्माणको काम अघि बढेको उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाले बताए । यस क्षेत्रमा पूर्वाधार निर्माणको अगुवाई समुदाय स्तरबाटै भएको छ । जंगल, भिर र अप्ठ्यारा ठाउँहरुमा स्थानीयबासीले आफ्नो दिवंगत आफन्तको सम्झना, तथा परिवारमा थपिएको खुसीयालीको उपलक्षमा समेत पदमार्ग, चौतारा निर्माण संगै र खानेपानीको समेत बन्दोबस्त मिलाएका छन् । समुदायस्तरबाट भएको प्रयासमा स्थानीय सकार मार्फत समेत सघाउन थालेपछि स्थानीयबासी उत्साहित बनेका छन् । बेनी देखि सवारी साधन हुँदै पोखरेवगर पुगेपछि दुई घण्टामा पाउद्वार गाउँ र र त्यहाँबाट दुई घण्टामा लरेनी र लरेनीबाट खोप्रा लेकमा साढे ३ घण्टामा पुग्न सकिन्छ ।




