खड्का कृष्ण जेभी कम्पनीको बेवास्ताले गलेश्वर– भगवती सडक अलपत्र
काेराेला पोस्ट २१ मंसिर २०७७, आइतबार


धिरन खत्री
म्याग्दी, २१ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर देखि पिप्ले–भगवती हुदै बेग सडक आयोजना ठेगदारको लापरबाहीले अलपत्र परेको छ । २०७८ साल जेठमा सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित एपेक्स खड्का कृष्ण जेभि काठमाण्डौका निर्माण ब्यवसायी कृष्ण खड्काले ठेक्का लिएका थिए ।


हिउदँको समयमा निर्माण ब्यवसायीले सडकमा काम सुरु नगर्दा सडक अलपत्र हुने अवस्था देखिएको छ । काम सम्पन्न गनुपर्ने ६ महिना बाकी छदाँ सडकमा मजुदर र मेशिनरी सामाग्री परिचालनमा निर्माण ब्यवसायीले ध्यान नदिदाँ सडक अलपत्र अवस्थामा पुग्ने खतरा देखिएको स्थानीयबासी देवेन्द्रबहादुर मल्लले बताए । अघिल्लो आर्थिक बर्षको हिउँद धमाधम काम गरेको कम्पनीले कोरोनाको कारण देखाएर एक बर्ष वितिसक्दापनि काम गर्ने सुरसार देखाएको छैन । मंसिरसम्मपनि निर्माणको काम सुरु नगर्दा कालोपत्रे गर्ने योजना समयमै सिद्धिने भन्दापनि अलपत्र अवस्था पुग्ने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । बारम्वार अनुगमन र फोन गरेर काम फर्कन निर्माण कम्पनीलाई ताकेता गर्दापनि काममा बेवास्ता गरेको केसीले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय म्याग्दीका ईन्जिनियर सन्तोष अर्यालले समयमै निर्माण कम्पनीले मजदुर तथा मेशिनरी साधनहरु परिचालन नगरेको बताए । ’कम्पनीले मंसिर ५ गतदेखि काम सुरु गर्ने बाचा गरेपनि आजसम्म मजदुर तथा मेशिनहरु फिल्डमा ल्याएको छैन’, अर्यालले भने । हालसम्म कम्पनीले ४३ प्रतिशत भौतिक प्रगति गर्दै ६ करोड २४ लाख ३९ हजार ६ सय रुपैयाँ पुर्वाधार कार्यालयले भुक्तानी दिएको बताए । आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौसंग १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जेभिका संचालक कृष्ण खड्काले आजभोलीदेखिनै मजदुरसहित मेशिन परिचालन गरेर काम सुरु गर्ने फोनमा बताए ।

४३ प्रतिशत भौतिक प्रगति गरेको सडकमा निर्माण कम्पनीले कोरोना र बर्षातको कारण देखाउदै काम सुरु गरेको छैन् । भने मंसिर ५ गतेदेखि काम सुरु गर्न कम्पनीलाई तोकतागरेपनि बेवास्ता गरेको कार्यालयले जनाएको छ । हाल कच्चि, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजना मार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिने सडक हो । आयोजनामा अन्तरगत निर्माण कम्पनीले सडक फराकिलो बनाउने, ग्यावियन जाली लगाउने, पर्खाल लगाउने काम बाहेक नाली लगायतको कालोपत्रे गर्नका लागि सडक तयारी अवस्थामा बनाउन सकेको छैन् ।


दशकअघि ट्याक खुलेको यो सडक कच्ची भएको कारण अहिलेसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती खेप्दै आएका छन् । समयमै गुणस्तर कामसहित सम्पन्न गर्नका लागि निर्माण ब्यवसायीलाई जनप्रतिनिधिले दबाव सिर्जना गरेर काममा फर्काउनुपर्ने देखिन्छ ।