म्याग्दी २१ मंसिर । म्याग्दीका सुन्तला बगैचामा फैलिएको औँसा कीराको प्रकोपको निरिक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरिक्षण सुरु गरेको छ । म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा कीराको प्रकोपले पाक्ने समयमा बोटका पँहेला भएका सुन्तला झर्ने समस्या बढेको छ । बास्कुनासंगै बेनपा ९ घतान, मालिका गाउँपालिका विम, अन्नपुर्ण गाउँपालिका भुरुङतातोपानी, दोसल्ले र रघुगंगा गाउँपालिकाको भगवती र पिप्लेमा सुन्तलामा औँसा कीराको प्रकोप देखिएको हो ।
कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैचाहरुमा औसा किराको प्रकोप बढेपछि कृषकहरुको बगैचामै पुगेर रोकथामको लागि कृषकहरुलाई सल्लाह दिने र वास्तविक अबस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आबश्यक पर्ने प्लाष्टिक झोला निशुल्क उपलब्ध गराएको जानकारी दिए ।




