म्याग्दी २१ मंसिर । म्याग्दीका सुन्तला बगैचामा फैलिएको औँसा कीराको प्रकोपको निरिक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरिक्षण सुरु गरेको छ । म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा कीराको प्रकोपले पाक्ने समयमा बोटका पँहेला भएका सुन्तला झर्ने समस्या बढेको छ । बास्कुनासंगै बेनपा ९ घतान, मालिका गाउँपालिका विम, अन्नपुर्ण गाउँपालिका भुरुङतातोपानी, दोसल्ले र रघुगंगा गाउँपालिकाको भगवती र पिप्लेमा सुन्तलामा औँसा कीराको प्रकोप देखिएको हो ।


कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैचाहरुमा औसा किराको प्रकोप बढेपछि कृषकहरुको बगैचामै पुगेर रोकथामको लागि कृषकहरुलाई सल्लाह दिने र वास्तविक अबस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आबश्यक पर्ने प्लाष्टिक झोला निशुल्क उपलब्ध गराएको जानकारी दिए ।

जमिनको सतहबाट १ फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ । जिल्लाको ६ वटै स्थानीय तहको ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस बर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावटले कृषकको आम्दानी घट्ने देखिन्छ ।




